विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या आधा लाख नाघ्यो



एजेन्सी, १३ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या आधा लाखभन्दा बढी पुगेको छ ।

वर्ल्डोमिटर्सको अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ५२ हजार १६८ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र १ हजार ९३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित ९ लाख २४ हजार ४०२ पुगेका छन् । साथै १ लाख १० हजार ४३२ संक्रमित भने पूर्णरुपमा निको पनि भइसकेका छन् ।

न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २१ हजार २८३ पुगेकाे छ । शुक्रबार मात्र त्यहाँ ४२२ काे मृत्यु भएकाे छ भने ८ हजार १३० नयाँ संक्रमित फेला परेका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ७६ हजार ७११ पुगेकाे छ ।

त्यस्तै न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख २ हजार १९६ पुगेकाे छ । त्यहाँ ५ हजार ६१७ जनाले ज्यान गुमाएका छन्, जसमा १८९ जनाकाे मृत्यु शुक्रबार मात्र भयाे ।