राजनीति

आपसी कटाक्ष र टिप्पणी बन्द गरौं : मुख्यमन्त्री पोखरेल



काठमाडौँ, १५ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी भित्र भएका गुट र उपगुट तथा विभिन्न समुहबीच हुने अनावश्यक आपसी कटाक्ष र टिप्पणी बन्द गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय यो वा त्या बहाना तथा पूर्व समुहबीच एक अर्का प्रति भइरहेको कटाक्ष तथा अनावश्यक टिप्पणी प्रति लक्षीत गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी भित्र कुनै पनि आपसी मतभेद तथा कुण्ठाले आफु र आफ्नो पार्टी विजयी हुने नभई नासिने भएकाले त्यस्ता पार्टी तथा संगठनलाई घातक हुने कुनै पनि कार्यहरु तत्काल वन्द गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले पार्टी एकता पछि दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी स्थापीत भएको तर्फ संकेत गर्दै पार्टी एकतालाई जोगाउन विश्वास र सहकार्यको वातावरण तयार पार्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा धारणा प्रस्तुत गर्दै पार्टीलाई एक ढिक्का बनाई मुलुकको विकास र समृद्धिको यात्रामा अघि बढ्न आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण तयार गरौं । आपसी कटाक्ष र टिप्पणी वन्द गरौं । मिले जितिन्छ, झै झगडाले नासिन्छ,गंभीर बनौं ।’