कञ्चनपुर, १५ बैशाख । कञ्चनपुरमा एक हजार ७०८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ ।
गत चैत २७ देखि सुरु गरिएको र्यापिड टेस्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुको नतिजा पनि नेगेटिभ आएको छ ।
भारतबाट फर्केका व्यक्तिको सबैभन्दा बढी र्यापिड टेस्ट गरिएको छ । तेस्रो मुलुकबाट फर्केका र कोरोनाको सङ्क्रमण दर उच्च रहेका भारतीय सहर मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रबाट फर्केका व्यक्तिको र्यापिड टेस्ट गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना भाइरस फोकल पर्सन सिद्धराज भट्टका अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको समेत र्यापिड टेस्ट गरिएको छ ।
भीमदत्त नगरपालिकामा ५९०, वेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको र्यापिड टेस्ट विधिबाट परीक्षण गरिएको छ । यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाउँपालिकामा ६२ र बेलडाँडी गाउँपालिकामा २६ जनाको पनि टेस्ट गरिएको छ ।
कतार, दुबई, साउदी अरेबिया, मलेसियालगायत मुलुकबाट आएका व्यक्तिसँगै भारतको कोरोना सङ्क्रमणको दर उच्च रहेका मुम्बई, नयाँदिल्ली र राजस्थानलगायत क्षेत्रबाट फर्केका व्यक्तिहरु, नेपालको काठमाडौं, ओखलढुंगालगायत क्षेत्रबाट फर्केका व्यक्तिसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको र्यापिड टेस्टको कार्यसमेत गरिएको छ ।
आइतबार मात्रै शुक्लाफाँटामा १२०, बेलौरीमा २४, वेदकोटमा ७१, भीमदत्तमा ४०, पुनर्वास नगरपालिकामा १४५ जनाको र्यापिड टेस्ट गरिएको थियो । टेस्ट गरिएका सबैजनाको नतिजा नेगेटिभ छ । र्यापिड टेस्टमा शरीरमा एन्टीबडी रहे/नरहेको जाँच गरिन्छ ।
जिल्लामा हालसम्म २०५ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएकामध्ये एकजनामा पोजेटिभ देखिएको थियो । उनी उपचारपछि घर फिर्ता भइसकेका छन् । अन्यको नतिजा नेगेटिभ आएको छ । स्वाब संकलन गरिएकामध्ये दुईजनाको रिपोर्ट आउन बाँकी छ ।
कञ्चनपुरमा रहेको ६०६ शय्याको क्वारेन्टाइनमा ६ जना महिलासहित १५६ जनालाई राखिएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा बाह्य मुलुकबाट आएका व्यक्तिको र्यापिड टेस्टको कार्य सुरु गरिएको छ । तेस्रो मुलुकबाट जिल्लामा चैतमा भित्रिएका १३० जना छन् । -रासस










प्रतिक्रिया दिनुहोस्