काठमाडौं, १० माघ । चिनी मिलबाट बिजुली उत्पादन गरी आपूर्ति गर्ने सरकारको कार्ययोजना यस वर्ष असफल भएको छ । सरकारले यो सिजनबाट चिनी मिलबाट बिजुली खरिद गर्ने गरी गत आर्थिक वर्षमा नै तयारी गरेको छ ।
“चालू आवमा प्रशारणलाइन तयार नहुँदा चिनी उद्योगबाट उत्पादन हुने विद्युत् खरिद कार्ययोजना कार्यान्वयनमा आउन सकेन,” विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले भने । उनका अनुसार यस सम्बन्धमा ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ ।
अहिले नमुना सम्झौता (स्याम्पल कन्ट्र्याक्ट) मन्त्रालयबाट नेपाल विद्युत् प्राधिकरण पठाइएको छ,” सिंहले भने, “अझै केही समय लाग्ने भएकाले आगामी वर्षबाट यो कार्ययोजना सफल हुन्छ ।” यो योजनाका लागि ऊर्जासँगै उद्योग मन्त्रालयसँग पनि समन्वय गनुपर्ने भएकोले पनि यस वर्ष ढिलाइ भएको उनको भनाइ छ ।
चिनी उद्योगको आग्रहमा सरकारले गत वर्षदेखि चिनी मिलबाट उत्पादन हुने विद्युत् खरिदको तयारी गरेको थियो । सरकारी समन्वयको कमीले गर्दा यस वर्ष पनि चिनी मिलबाट विद्युत् उत्पादन गर्न नसकिएको चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए ।
“सरकारले यसलाई प्राथमिकतामा राखेका कारण आगामी वर्षदेखि भने विद्युत् उत्पादन हुने सम्भावना देखिएको छ,” उनले भने, “तर त्यसका लागि अहिलेदेखि तदारुकताका साथ काम गर्नुपर्छ ।” अग्रवालका अनुसार उखु क्रसिङको समयमा ५० मेगावाटसम्म विद्युत् आपूर्ति गर्न सकिन्छ ।
देशभर सञ्चालनमा रहेका ११ वटा मिलबाट आगामी वर्षमा २५ मेगावाटसम्म र त्यसपछिका प्रत्येक वर्ष विद्युत् आपूर्ति बढाउँदै लगिनेछ । “अझ थप केही पूर्वाधार सुधार र उल्लेख्य लगानी गर्ने हो भने दुईदेखि चार वर्षभित्र ६३–८७ मेगावाट (वार्षिक २६ करोड युनिट) विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुन सक्छ,” अग्रवालले भने ।
सुख्खायाममा उत्पादन हुने विद्युत्ले सरकारले राहत हुने भन्दै सम्पूर्ण प्रक्रिया छिटो पूरा गर्न उद्योगीले सरकारलाई आग्रह गर्दै आएका छन् । सरकारले गत वैशाखमा उखु क्रसिङको समयमा उखुको बोक्राबाट उत्पादन हुने विद्युत् आपूर्तिका उद्योगसँग आवदेन माग गरेको थियो । ७ वटा उद्योगले आवेदन दिएको कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्