काठमाडौँ, ३१ वैशाख । लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज (बुधबार) नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली जाँदै छ ।
गृह मन्त्रालयका अनुसार दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली पठाउन लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार सशस्त्र प्रहरीको फौज पठाउन लिखितरुपमा निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
चार दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो । पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्