अर्थ

४० मिनेटमै सेयर बजार बन्द



काठमाडौँ, ३१ बैशाख । सेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ ।

नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि २ दशमलव शून्य एक प्रतिशतले घटेको छ ।

यस्तै ७४ वटा कम्पनीको २ सय ११ करोबारबाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको १० हजार ५ सय २६ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका ११ वटै समुहका सूचकहरु घटेका छन् ।

यस्तै कारोबार भएका सबै कम्पनीको शेयर मूल्य पनि घटेको छ । सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको ८ लाख ६२ हजार ९ सय ५० रुपैयाँको भएको छ । यस्तै लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ३ प्रतिशतले गुमाएका छन् ।