राजनीति

लिम्पियाधुरा समेटेर नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन



काठमाडौँ, २ जेठ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सुझाव दिन बसेको नेकपा सचिवालयको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ । वरिष्ठ नेता खनालले भन्नुभयो, “हामीले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन, सुझाव दिएका छौं । नेपालको भू–भागको रक्षा गर्नु सरकारको कर्तव्य हो । यसमा सरकार कहीँ कतैबाट विचलित हुनुहुँदैन ।”

नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेक जोड्ने सडक खनेको विषयमा पनि सरकारले दृढ भएर प्रस्तुत हुनुपर्ने राजनीतिक तवरमै वार्ता गर्न सुझाव दिइएको नेता खनालले बताउनुभयो । त्यस्तै आजको बैठकले कोरोनाको सङ्क्रमण भयावह बन्दै गएकाले सरकारले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।

नेता खनालले बैठकमा आजै संसद्‍मा प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे पनि छलफल भएको र कोरोना कारण शिथिल बनेको अर्थतन्त्र उकास्‍ने गरी कार्यक्रम प्रस्तुत गर्न सुझाव दिएको बताउनुभयो ।