सम्पादकीय

घर छैन, के चुनावको रौनक ?



काठमाडौं, २१ चैत । भूकम्प एवं बारम्बारको पहिरोबाट जनधन र घरबासै गुमाएका केरौंजाबासीलाई चुनावको रौनकले छोएको छैन । दुई वर्षदेखि टहरोभित्रै बस्न बाध्य आठ सय ९४ घरधुरी केरौंजाबासीले रोईरोई भोट हाल्न नजाने बताएका छन् ।

‘हामी सरकार पनि मान्दैनौं, भोटसोटको पनि मतलब छैन’, पूर्वगाविस अध्यक्ष शुकबहादुर गुरुङले भने, ‘हिउँदभरि हिउँ परेर सास्ती, फागुन–चैतमा आँधीहुरीले त्रिपाल उडाएर रातभरि सुत्न दिएन । असार–साउन लाग्यो , पहिरोको डर । यस्तो बेला हामी रोईरोई भोट हाल्न जाँदैनौं ।’

भूकम्पको विपद्पछि ‘बाँचेर पनि मरेको जिन्दगी’ भएको उनको गुनासो छ । ‘हामीलाई यस्तो परेको सरकार हेरेर बस्छ, हामी कि हाल्ने भोट ?, उनी भन्छन्, ‘भूकम्प र पहिरोले बर्सेनि टाउको उठाउन दिएको छैन ।

अरु गाउँका मान्छे नयाँ घर बनाएर सर्न थाले । हामी भने अहिलेसम्म पहिरोको मुखमा ज्यान माया मारेर बसिरहेका छौं ।’ गाउँमा जुन पार्टीका नेता आए पनि बहिष्कार गर्ने उनको भनाइ छ । अन्नपूर्णपोष्टमा समाचार छ ।