बैतडी, १० जेठ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ ।
नेपाल सरकारको नीति अनुसार सीमा नाकामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो । जिल्लाको भारतसँग नाका जोडिएको एक मात्र वैध नाकाको रुपमा रहेको झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सीमा क्षेत्रको सुरक्षा, राजस्व चुहावट नियन्त्रण, भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी अपराध नियन्त्रणका लागि बिओपी स्थापना गरिएको हो । हामीले अहिले घर भाडामा लिएर बिओपी स्थापना गरेका हौं । आफ्नै भवन बनेपछि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाउँछौँ ।’
बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा पनि सशस्त्र प्रहरीको उपस्थिति छ। अहिले कोरोना महामारी नियन्त्रणका लागि जिल्लाका अन्य ५ ठाउँमा पनि सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।










प्रतिक्रिया दिनुहोस्