चितवन, २१ चैत । नारायणगढ—मुग्लिन सडकमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आधा दर्जनबढी सवारी साधन पुरिएका छन् ।
मुग्लिन सडकअन्तर्गत चितवनमा पर्ने कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सवारी साधनसँगै पुरिएर गम्भीर घाईते भएका दुई जनाको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन् ।
बिहान ११ बजेको समयमा खसेको सुख्खा पहिरोले सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।
उनका अनुसार पहिरोमा पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएका छन् ।
पुरिएकाहरुको उद्वारको लागि तीनवटै सुरक्षा निकाय तथा स्थानीयहरुलाई परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्