काठमाडौँ, १२ जेठ । प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको समर्थन गरेको छ ।
आइतबारको बसेको कांग्रेसको पदाधिकारी बैठकले भारतीय अतिक्रमणमा परेको लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने गरी निशान छापमा समावेश गर्न सरकारले ल्याएको संशोधनको पक्षमा उभिने निर्णय गरेको हो ।
सरकारले अतिक्रमित नेपाली भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेलगत्तै निशान छाप परिवर्तनका लागि शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो । कांग्रेस संशोधनको पक्षमा उभिएपछि सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पारित हुने पक्का भएको छ । योसँगै भारतले बषौंदेखि अतिक्रमण गरेको कालीपानी क्षेत्रको नेपाली भूभाग अब संवैधानिक रुपमा नेपालको भूभाग भित्र समेटिने भएको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सविधान संशोधनलाई अघि बढाउन पदाधिकारी बैठकले निर्णय लिएको वानकारी गराउँदै नक्सा र निशाना छापमा नेपाली भूभाग समेटिएर मात्रै नहुने भन्दै भारतसँगको उच्चस्तरको कुटनीतिक संवादबाट भूमि नै फिर्ता ल्याउने पहल सरकारलाई गर्न आग्रह गरेको बताउनुभयो ।
सभापति देउवाले जनता समाजवादीका नेताहरु प्याकेजमै संविधान संशोधनको बिषय लिएर आफूलाई भेट्न आएको जानकारी बैठकमा गराएका थिए । अतिक्रमित सिमानासँगको बिषयमा जनता समाजवादीले उठाएको बिषयलाई मिसाउन नहुने भन्दै पछि छुट्टै छलफलको बिषय बनाउनु पर्ने निष्कर्ष बैठकले निकालेको थियो ।










प्रतिक्रिया दिनुहोस्