विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्याे



काठमाडौँ, १४ जेठ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेकाे संख्या १ लाख नाघेकाे छ । वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अनुसार बुधबार बिहानसम्म १ लाख ५ सय ७९ पुगेकाे छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार १४८ जना भाइरसबाट संक्रमित भइसकेका छन् । मंगलबार मात्र १८ हजार ९२२ जना काेराेना संक्रमित भेटिएका छन् भने ७७४ जनाकाे मृत्यु भएकाे छ । हाल मृत्युदर घटेसँगै अहिलेसम्म कुल संक्रमितमध्ये ४ लाख ७८ हजार ३९२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।

न्यूयोर्कमा अहिलेसम्म ३ लाख ७३ हजारभन्दा मानिस संक्रमित भएका छन् भने २९ हजार ४५१ जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ मंगलबार १ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् भने १४१ जनाकाे मृत्यु भएकाे छ ।

त्यस्तै राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १९७ पुगेको छ । न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ५७ हजार नाघेकाे छ ।