काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रीक गणतन्त्र दिवसले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिनुभएको छ ।
१३ औँ गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।’
सदाकाल स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने पूर्वजहरूको योगदानको स्मरण गर्नुहुँदै राष्ट्रपतिले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान पनि गर्नुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै, उहाँले सङ्क्रमित बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्