काठमाडौँ, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताउनुभएको छ ।
१३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू-भाग रहेको उल्लेख गर्दै सभापति देउवाद्वारा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै देउवाले स्थायित्व कायम गर्नु अबको दायित्व रहेको बताउनुभयो ।
जारी शुभकामना सन्देशमा भनिएको छ, ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं । नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु । लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
सन्देशमा भनिएको छ, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण देश कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ उनले उच्च सर्तकता र दृढ मनोबलका साथ महामारीको सामना गर्न आग्रह समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्