काठमाडौँ, १७ जेठ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकका लागि सरकारले विभिन्न २० वटा नाकाहरु तोकेको छ ।
कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले भारतमा रहेका नेपालीहरुलार्य नेपाल प्रवेशका लागि २० वटा नाका तोकेको छ ।
नेपाल प्रवेशका लागि इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सुनसरीको कुनौली, सप्तरीको ठाडी, सिरहाको माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, नवलपरासीको महेशपुर, रुपन्देहीको वेलहिया, कपिलवस्तुको तौलिहवा, कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोएिको छ ।
सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउनेसम्बन्धी कार्ययोजना पारित गरेको छ। बैठकमा कुन-कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो ।
विभिन्न देशमा रहेका नागरिकहरू जो स्वदेश फर्किन चाहन्छन् उनीहरूको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्नेछ। सोही सूचीअनुसार क्रमशः उनीहरूलाई स्वदेश फर्काउने कार्ययोजना छ। तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि सुरु हुने एक मन्त्रीले बताए ।
शुक्रबार पेश भएको कार्ययोजनामा मन्त्रीहरूले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ । सो कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउन उपप्रधानमन्त्रीसहितका मन्त्रीहरू बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद् बैठकले यसअघि नै भारतलगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरिसकेको छ । अब सोही कार्ययोजनाअनुसार सम्बन्धित गन्तव्य मुलुक र दूतावाससँग समन्वय गरी तत्कालै गम्भीर समस्यामा रहेका २५ हजार नागरिक पहिलो चरणमा स्वदेश फर्काइने भएको छ ।










प्रतिक्रिया दिनुहोस्