बैंक

एटीएममार्फत अनाधिकृत रकम निकाल्ने चार मोल्दोभियन नागरिक पक्राउ



काठमाडौँ २१ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले एटीएममार्फत अनाधिकृत रुपमा रकम भुक्तानी लिने चार मोल्दोभियन नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोले आज पत्रकार सम्मेलन गरी ठमेल तथा दरबारमार्गमा रहेका विभिन्न बैँकका एटीएमबाट अवैध रुपमा रकम निकाल्ने निसु दोर्जे पा, भेसिल फेटेस्क्यू पा, युरी डेरेम्जी पा र युजेन्यू दोर्जे पालाई आइतबार पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ परेकासँग ब्युरोले ४९५ थान एटीएम, नेपाली रु सात लाख ८१ हजार ३५०, अमेरिकन डलर एक हजार ६०५, युरो दुई हजार २४५ सहित एक थान ल्यापटप, माक्स, झोलालगायतका सामग्री पक्राउ गरेको छ ।

ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले २०७० सालदेखि विदेशीले नेपालमा आएर एटीएममार्फत अनाधिकृत रुपमा रकम निकाल्ने गरेको बताउनुभयो । उहाँले हालसम्म चार रोमानियन, तीन टर्कीस, दुई बुल्गेरियन, दुई भारतीय र चार मोल्दोभियन नागरिकलाई ब्युरोले पक्राउ गरिसकेको जानकारी दिनुभयो ।

ब्युरोले हालसम्म ८४ लाख २८ हजार नेपाली रुपैँया, ६३ हजार ८५५ अमेरिकन डलर, ६२ हजार ९५० युरो र एक हजार १३९ थान एटीएम कार्ड बरामद गरिसकेको छ । यसैगरी आइतबार नै अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका सुमितकुमार सिंह रहेका छन् ।

ब्युरोले सिंहसँग एनटीसीको सात थान सिम, एनसेलको १८ थान सिम, आठ पोर्टको गेटवे डिभाइस दुई थान बरामद गरेको छ । रासस