राजनीति

बजेट महत्वाकांक्षी छैन, कार्यान्वयन चुनौतीपूर्ण छ : पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौँ, १८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले प्रस्तुत गरेको बजेट विपक्षी दल तथा केही मिडियाले भनेजस्तो बजेटको आधार ठूलो तथा महत्वाकांक्षी नभएको उल्लेख गर्दै कार्यान्वयनमा भने चुनौति रहेको औल्याउनुभएका छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता पाण्डेले बजेटमाथिको सैद्दान्तिक छलफलमा भाग लिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७७/०७८ को बजेट सही र यथार्थपरक रहेको उल्लेख गर्नुभएको छ । नेकपाका नेतासमेत रहनुभएका पूर्वअर्थमन्त्री पाण्डेले बजेटको लक्ष र प्राथमिकता सही रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।

उहाँले संघको बजेट खुम्चिएको अवस्थामा पनि प्रदेश र स्थानीय तहको बजेट नघटाउनु अत्यन्तै सकारात्मक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बजेट महत्वाकांक्षी छैन, कार्यान्वयन चुनौतीपुर्ण नै छ, चालू खर्च अधिकतम कटौती गर्ने अर्थमन्त्रीको घोषणा स्वागतयोग्य छ । प्रदेश र स्थानीय तहको बजेट घटाएको छैन, यो अत्यन्तै सकारात्मक छ, स्वास्थ्यमा बजेट अत्याधिक बढेको छ, यो निकै सकारात्मक छ, सामाजिक सुरक्षामा एकल महिलाको बजेट कतौटी भएको भन्दै प्रश्न उठाइएको थियो, ती कुनै कटौती नगरी बजेट बिनियोजन गरिएको छ । यी सकारात्मक छन ।’

बजेटमा रोजगारी सिर्जनाको सवालमा पनि सही कदम चालेको उहाँले बताउनु भयो । पाण्डेले भन्नुभयो, ‘रोजगारीको सवालमा १८ अर्व रुपैया सिधै नेपाल सरकारको कोषबाट खर्च गर्ने कुरा गरेको छ । रोजगारी निर्माणको सवालमा राम्रो छ । तर सरोकारवाला मन्त्रालय र अर्थ मन्त्रालयसहितको टिम बनाएर अनुगमन गर्ने ब्यवस्था मिलाउनु पर्छ । कृषिमा पनि बजेट बढाएको छ । कृषकहरुलाई बाली लगाउनु पर्व नैआधार मुल्य दिन्छु भनेर किसानलाई मनोवल उच्च बनाइएको छ । भूमि बैंक स्थापना पनि सकारात्मक छ । कृषि क्षेत्रलाई नयाँ ढंगले सोच्नुपर्ने खाँचो छ । आयात बढेको छ । कृषिमा अलिकति बजेट कम भयो कि भन्ने मलाई पनि लागेको छ । खरिद गर्न पैसा बढाउनुपर्छ ।’