काठमाडौँ, १९ जेठ । आज जेठ १९ अर्थात दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते राति नारायणहिटी दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारको हत्या भएको थियो । १९ वर्ष बिते तर घटनाकाे रहस्य अझै इतिहासकै गर्भमा छ ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।
हत्याको अझै यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन भएको छैन । दरबार हत्याकाण्ड भएको १९ वर्ष बितेपनि घटना रहस्य नै छ । राजा वीरेन्द्र लगायतकाे शवयात्रा समेत कर्फ्यु लगाइएपछि र सर्वसाधारणलाइ श्रद्धाञ्जली समेत अर्पण गर्न नदिएर हतारमै उनकाे दाहसंस्कार गरिएकाे लगायत हर्कतका कारण आम जनतामा शंका र आक्राेशकाे आगाे झन् दन्काइदिएकाे थियाे । तर पनि कर्फ्यू अवज्ञा गरेर जनताहरू घरका छत र सडकभरि राजा वीरन्द्रकाे शवयात्राका क्रममा देखिएका थिए ।
वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि ज्ञानेन्द्र शाहले ४ वर्ष राजगद्दी सम्हाले । माओवादीको शसस्त्र द्वन्द्व र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि देशमा राजतन्त्र नै समाप्त भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।
अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्