समाचार

आजको मौसम



काठमाडौँ, २३ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका विभिन्न प्रदेशमा हाल सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।

यस्तै, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदली हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । बाँकी भागहरुमा भने मौसममा सामान्य बदली रहनेछ ।  यता, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा   मेघगर्जन, चट्याङ सहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। राति,  प्रदेश २, प्रदेश ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली  रहनेछ।

यस्तै, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी  भूभागमा  मेघगर्जन, चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।