काठमाडौँ, २२ चैत । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताए ।
प्रधानमन्त्रीले भने “स्थानीय तहको निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हो, हाम्रो एजेण्डाको जित हो । नेपाली जनताको जित हो, राष्ट्रको जित हो ।”
पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज आयोजित आदिवासी जनजाति राष्ट्रिय महासङ्घ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने–“कुन पार्टीले जित्छ र कुन पार्टीले हार्छ भन्ने कुरा गौण विषय हो । तर मुलुकले जित्नुपर्छ, नेपाली जनताले जित्नुपर्छ ।”
प्रधानमन्त्रीले माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डा नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने उल्लेख गरे।
उनले सङ्घीयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्नेमा जोड दिए।
परिवर्तनका एजेण्डा खोस्न चाहनेलाई मात्र निर्वाचन नचाहेको भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीलाई एकताबद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्