समाचार

चट्याङ् लागेर एकै जिल्लाका ४ जनाको मृत्यु



सप्तरी, ११ असार । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ ।

महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादवको पनि मृत्यु भएको छ । यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।