राजनीति

मुलुकको विपद् प्रतिकार्यका लागि रहन सेनाको निर्देशन



काठमाडौँ, ११ असार । नेपाली सेनाको जंगीअड्डाले कोरोना ९कोभिड–१९० भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यमा पनि तयार रहन निर्देशन दिएको छ ।

सेनाले मातहतका पृतनाहरुलाई विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेशन अर्डर’ जारी गरेको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने बाढी, पहिरो जस्ता सम्भावित प्रकोपको प्रतिकार्यका लागि तयारीमा रहन निर्देशन दिइएको बताउनुभयो । सेनाले आवश्यक उपकरणसहित खोज तथा उद्दारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

विभिन्न पृतनाले मातहतका गण र गुल्महरुलाई पनि तयारी अवस्थामा फौज राख्न निर्देशन दिइसकेका छन् । सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपद् प्रतिकार्यका लागि चार चरणको कार्ययोजना बनाएको छ । विपद्को अवस्था अनुसार फौज परिचालित हुनेछन् । पहिलो चरणमा सम्बन्धित जिल्लाबाट फौज परिचालन हुनेछन् भने दोस्रो चरणमा छिमेकी जिल्लाबाट पनि थप मद्दत टोली परिचालन गर्ने सेनाको तयारी छ ।

तेस्रो चरणमा पृतनाबाट मद्दत टोली खटाउने तयारी छ । हरेक पृतनामा सैनिक इञ्जिनियरसहितको ‘र्‍यापिड रिएक्टिभ टिम’ तयारी अवस्थामा राखिएको छ । पृतनाबाट पनि स्थितिलाई नियन्त्रणमा लिन सम्भव नभएको अवस्थामा जंगीअड्डाको विपद् निर्देशनालयबाट पनि फौज परिचालन गर्ने सेनाको विपद् प्रतिकार्य योजनामा उल्लेख छ । यो अवस्थामा सेनाको इञ्जिनियरसहित विशेष फौजका टोली पनि परिचालित हुनेछन् ।

आवश्यकता अनुसार उद्दार कार्यका लागि नेपाली सेनाका एयरबेसमा हेलिकोप्टर तयारी अवस्थामा राख्न पनि भनिएको छ । इटहरी, चितवन, काठमाडौँ, पोखरा र सुर्खेतमा हवाई साधन तयारी अवस्थामा रहनेछन् भने आवश्यकता अनुसार अन्य स्थानमा पनि तैनाथ हुनेछन् । विगतको अवस्थालाई मूल्यांकन गरेर यसपटक ३० लाख घर परिवार प्रकोपबाट प्रभावित हुनसक्ने विश्लेषण एक सुरक्षा संयन्त्रले गरेको छ ।