Banner News

भक्तपुरमा हाम्रोलाई हैन, राम्रोलाई प्राथमिकता दिइन्छ : सांसद बस्नेत



भक्तपुर, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा कुनै पनि काम वा गतिविधिको लागि आफ्नो पार्टी तथा संगठन निकटलाई नभई राम्रोलाई प्राथमिकता दिने बताउनुभएको छ ।

हनुमन्ते नदी सफाई अभियानले जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको भक्तपुरका पूर्वप्रहरी प्रमुख एसपी सविन प्रधानलाई विदाई तथा नयाँ आउनुभएका भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापालाई गरेको स्वागत कार्यक्रममा आफ्नो धारणा राख्दै सांसद बस्नेतले भक्तपुरको विकास र समृद्धिको यात्रामा साथ दिने जो कोही नेतृत्वलाई पनि भक्तपुरमा स्वागत गर्ने बताउनुभयो । भक्तपुरको विकासको लागि हाम्रो मान्छे नभई राम्रो मान्छे आवश्यक रहेको समेत उहाँले औंल्याउनुभयो । विगतमा भक्तपुर राम्रो मान्छे आउन नमान्ने स्थिती रहेको तर वर्तमान नेतृत्व आएसँगै राम्रो मान्छेले आउन विशेष पहलका साथ आउने गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

एसपी सविन प्रधानले नेतृत्व गरेसँगै भक्तपुरको शान्ति सुरक्षा तथा विभिन्न प्रकारका विकासको आयोजनाले सहजतापूर्वक काम अघि बढिरहेको स्मरण गराउँदै उहाँले वर्तमान एसपी तारादेवी थापाको नेतृत्वले पनि सो भन्दा बढी गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । भक्तपुरमा प्रहरी प्रशासन तथा जुनसुकै निकायका नेतृत्वसँग जनप्रतिनिधि तथा राजनीतिक दलले गर्ने समान व्यवहार रहेको उल्लेख गर्दै उहाँले राज्यका सम्पूर्ण निकायले भक्तपुरको विकास र समृद्धिको यात्रामा अतुलनिय योगदान पुर्याएको स्पष्ट पार्नुभयो ।

भक्तपुरमा संचालन भएको हनुमन्ते नदी सफाई अभियानले देशभरको उदाहरणीय भएको उल्लेख गर्दै उहाँले अभियानसँगै विकासका कामहरु समेत जोडिएर काम भएको उल्लेख गर्नुभयो । अभियान सिर्जनात्मक ढंगले अघि बढेको उल्लेख गर्दै उहाँले अभियानले नै हनुमन्ते नदीको कोरिडोर निर्माण, वातावरण स्वच्छता, ग्रीनरीलगायतका धेरै कामहरु एकतावद्ध रुपमा अघि बढेको बताउनुभयो ।

अभियानकै दैरानमा विपद् व्यवस्थापनका आवश्यक सामग्री समेत व्यवस्थापन भएको उल्लेख गर्दै विपद् व्यवस्थापन, सफाई अभियनलगायतका कुराहरुसँगै भक्तपुरको विकास जोडिएको बताउनुभयो । उहाँले यो वा त्यो बहानामा हनुमन्ते कोरिडोर निर्माणलाई रोक्नु नहुनेमा जोड दिँदै नयाँ आउनुभएका एसपी तथा प्रमुख जिल्ला अघिकारीले विशेष भूमिका निर्वाह गरी जहाँ समस्या त्यही समाधान गर्न विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । दुई अर्व कोरिडोर निर्माण तथा ८१ करोड ढल निर्माण गर्न बजेट विनियोजन भएको जानकारी गराउँदै उहाँले हनुमन्ते जग्गा एकिकरण आयोजनाको माध्यमबाट कसैलाई पनि जग्गा विहिन हुन नपर्ने पुनः दोहोर्याउनुभयो । उक्त आयोजना भक्तपुरको लाईफ चेन्जर भएको समेत उहाँले बताउनुभयो ।

अबका दिनमा भक्तपुरमा भ्रष्टाचार नियन्त्रणको लागि हनुमन्ते अभियान तथा प्रहरी प्रशासनको सहकार्यमा नै भ्रष्टाचार हुने ठाउँमा विशेष योजना बनाई अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरमा हुने सडक दुर्घटनालाई नियन्त्रण गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल सरकार तथा सम्बन्धीत निकायको सहकार्यले नेपालमा कोरोनाको संक्रमण व्यापक मात्रामा समुदाय स्तरमा फैलन नपाएको उल्लेख गर्दै उहाँले वर्तमान अवस्थामा कोरोना संक्रमणको वृृद्धिदर बढी हुनु भनेको विदेशबाट आएका नेपालीमा भएको बताउनुभयो । उक्त वृद्धिदरलाई नियन्त्रण तथा प्रभावकारी योजना बनाई सरकारले व्यापक मात्रामा परिक्षणको दायरालाई समेत फराकिलो पार्दै लगेको समेत जानकारी गराउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घरयासी खानामा प्रयोग हुने तातोपानी, वेसार, ज्वानो, अदुवा लगायतका नेपालमा नै उत्पादीत खाद्य पदार्थले कोरोना संक्रमणको रोकथाममा केही मात्रामा भए पनि सहजता पैदा हुने विभिन्न विज्ञहरुले भनेको कुरालाई आलोचकहरुले अनावश्यक रुपमा खिल्ली उडाएकोमा आक्रोस व्यक्त गर्दै उहाँले कसैले पनि अनावश्यक कुरामा स्याल हुँइया गर्नुको अर्थ नभएको बताउनुभयो ।

एसपी सविन प्रधानले भक्तपुरको आफ्नो बसाई जीवनको स्वर्णिम समय भएको उल्लेख गर्दै आफु जहाँ गए पनि भक्तपुरको बसाई जीवनभर सम्झनायोग्य भएको बताउनुभयो । भक्तपुरमा सवै नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, सम्पूर्ण संघसंस्था तथा निकायको साथ र सहयोगले जीवनको नयाँ बाटोमा हिड्ने प्रेरणा पाएकोमा सवैलाई हार्दिक धन्यवाद समेत दिनुभयो ।