काठमाडाैँ, २४ असार । समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।
अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ । समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुन सक्ने भन्दै किसान चिन्तित भएका छन् ।
शैलुङ कन्स्ट्रक्सनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच केही समयअघि साढे पाँच लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको छ । शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
अहिलेको बजार मूल्यअनुसार युरियाको मूल्य प्रतिक्विन्टल ३९ सय रुपैयाँ छ । यस हिसाबले साढे पाँच लाख क्विन्टलको मूल्य दुई अर्ब १४ करोड ५० लाख रुपैयाँ हुन्छ । अन्तर्राष्ट्रिय बजार र डलर सटही मूल्य तलमाथि भइरहन्छ । सरकारले अनुदान दिएकाले किसानले भने क्विन्टलको १४ सय रुपैयाँमा युरिया मल पाउँछन् ।
शैलुङले २५ हजार टन युरिया आयात गर्न एलसी खोलिसकेको छ । थप ३० हजार मल खरिदका लागि कम्पनीसँग सम्झौता गरेर यसै साता एलसी खोल्ने तयारी गरेको छ । रासायनिक मल कारोबारमा शैलुङको अनुभव नभए पनि राजनीतिक पहुँच प्रयोग गरेर उक्त कम्पनीलाई मिल्ने गरी प्रक्रिया पु-याएको आरोप लागेको छ । समयमा खरिद नभएर किसानले मल किन्न नपाएको अवस्थामा बदनाम कम्पनीलाई ठेक्का दिनु रहस्यमय रहेको कृषि विज्ञ बताउँछन् । विज्ञका अनुसार मल खरिदमा सधैं आर्थिक अनियमितता हुने गरेको छ । आर्थिक लेनदेनका कारण समयमा मल खरिद नगर्दा किसानले मल नपाएको कृषि विज्ञ डा. कृष्ण पौडेलले बताए । ‘अनुदानको मलमा पहिलेदेखि नै ठूलो घोटाला हुँदै आएको छ,’ पौडेलले भने, ‘अहिले अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठेक्का हत्याए ।’ याे खबर नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्