राजनीति

शुल्क लिएर पिसिआर परीक्षण गरे कारबाही हुन्छ : प्रवक्ता गौतम



काठमाडौँ, २४ असार । शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने जनाएका छन् ।

उनले सबै कोभिड-१९ सम्बन्धी परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको बताए । अहिले उपत्यकाका तीन वटा सरकारी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने सुविधा छ । जसमा वीर, टिचिङ र पाटन अस्पताल छन् ।

यी अस्पतालहरूले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिलाई शुल्क लिएर परीक्षण गर्न पाउँछन् । जसको लागि मन्त्रालयले परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ । अहिले यी तीन वटा अस्पतालबाट ५ सय बढी व्यक्तिले शुल्क तिरेर परीक्षण गराएका छन्।

त्यसरी परीक्षण गराउनेमा विदेश जाने, आपत्तकालीन शल्यक्रिया गराउनुपर्ने व्यक्तिहरू छन् ।