समाचार

झापामा मास्क नलगाइ हिँड्ने एक हजार ६८ जना पक्राउ



झापा, २८ असार । झापामा मास्क नलगाइ हिँडेको आरोपमा तीन दिनमा एक हजार ६८ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सदरमुकाम भद्रपुरसहित दमक, धुलाबारी, अनारमनी, झिलझिले, काँकरभिट्टा लगायतका क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार मास्क नलगाइ हिँडेका उनीहरुलाई कारबाही गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई विभिन्न ठाउँमा राखिएका चेकपोइन्टमा खटिएका प्रहरी टोलीले ८४६ पुरुष र ३ सय २२ महिलालाई कारबाहीको दायरामा ल्याएका छन् ।

मास्क नलगाउने मध्ये कतिपयलाई १५ मिनेट होल्ड गरेर विफ्रिङ गरी पठाइएको छ भने कतिपयलाई प्रहरीले मास्क समेत वितरण गरेको छ । केहीलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार जरिवाना पनि तिराइएको प्रहरीले जनाएको छ ।