राजनीति

सामाजिक सुरक्षाको भत्ता नगरपालिकाले भन्दा बैकले राम्रो वितरण गर्ने अपेक्षाः मेयर थापा



भक्तपुर, २९ असार । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सामाजिक सुरक्षाको भत्ता नगरपालिकाले भन्दा पनि बैकले राम्रोसंग वितरण गर्ने अपेक्षा राखेको वताउँनु भएको छ । उहाँले सो कुरा नगरपालिका र बैकहरु बीच आज भएको सम्झौता पत्र हस्तातरण गर्ने कार्यक्रममा बताउँनु भएको हो ।

कार्यक्रममा उहाँले जेष्ठ नागरिकहरुलाई भत्ता वितरण गर्ने कार्य सामाजिक कार्य भएको र यो कार्य बैकहरुले वितरण गर्दा नागरिकहरुले सुविधा र सरलता पाउनु पर्ने कुरामा जोड दिदै उहाँले थप्नु भयो– यो कार्यले बैकहरु सिधै जनतासंग पुग्न पाउँछन र जसले गर्दा उनीहरुलाई पनि ग्राहक बढाउने अवसर जुट्ने छ । सामाजिक भत्ता बैकहरुले वितरण गर्दा जुन बैकले नागरिकलाई सुविधादिएर बाढ्छ, त्यो बैक राम्रो छ भनेर हामीले जनता माझ भन्न सक्छौ ।

नगरपालिका र बैकहरुबीच भएको सम्झौतामा बैकले नगरपालिकाबाट प्राप्त विवरण बमोजिम लाभग्राहीको नाममा शून्य मौज्दातमा सामाजिक सुरक्षा वचत खाता खोल्ने छ । यसरी खाता खोल्दा लाभग्राहीको सामाजिक सुरक्षा भत्ता कारोवारको विवरण देखिन सक्ने गरि १३ अंकको सामाजिक सुरक्षा परिचय पत्र नंम्बर बैक तथा वित्तीय संस्थाको मुख्य कारोवार गर्ने प्रणालीमा अनिवार्य सेभ गर्ने व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ ।

त्यसरी नै अर्को वुँद्धामा वडा कार्यलय र बैकको समन्वयमा एउटा वडामा कम्तिमा ३ दिन तोकिएको स्थानमा गई सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने छ । तोकिएको स्थानमा नआउने सेवाग्राहीको हकमा बैकमा नै गई सामाजिक सुरक्षा भत्ता लिनु पर्ने कुरा उल्लेख गरिएको छ । नगरपालिका र बैक बीच १५ बुँद्धे सम्झौता गरिएको छ । सो कार्यक्रमको सभापतित्व सामाजिक विकास समितिका संयोजक किरण थापाले गर्नु भएको थियो ।स्वागत मन्तव्य वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले गर्नु भएको थियो भने संचालन अनिरुद्ध नेपालले गर्नु भएको थियो ।