राजनीति

अध्यागमनका कर्मचारीले चिनियाँ नागरिकलाई बेचे भिसा



काठमाडौँ, १ साउन । अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन् । काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो । उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ ।

विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए । त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ । तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ । केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ । त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो ।

रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ । ती चिनियाँको कुनै पनि कागपत्र अध्यागमनमा छैन । मूलतः त्यही कागजपत्रका आधारमा विभागको गैरपर्यटकीय शाखाले रिलेसन भिसा दिनेरनदिने निर्णय गर्छ । काफ्लेले चिनियाँसँग भिसाको कारोबार कार्यालयबाहिर गरेको देखिएको छ । उनले त्यसको सुइँको समेत अध्यागमनका अन्य कर्मचारीलाई दिएनन् ।

विभागका महानिर्देशक रमेशकुमार केसीले भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘जो कोही भए पनि दोषीले उन्मुक्ति पाउँदैन। कारबाही गर्छु’, महानिर्देशक केसीले अन्नपूर्णसँग भने ।

काफ्लेले अर्कै शाखामा कार्यरत रहेका बेला अनधिकृत ढंगले गैरपर्यटकीय शाखालाई चाहिने भिसा निकालेका थिए । उनको चिनियाँ कनेक्सन पेचिलो अनुसन्धानको विषय बनेको छ । निजामती सेवाबाट अवकाश पाउन लागेका काफ्लेको ‘कर्तुत’का आधारमा विगतमा भएका सबै शंकास्पद गतिविधिको अनुसन्धान गर्न विभागलाई सहज बनेको छ ।

भिसा दुरुपयोग गर्न काफ्लेलाई स्टोर शाखाका खरिदार विष्णु कार्कीले सघाएको खुलेको छ । त्यसबेला काफ्लेलाई नै स्टोर शाखा प्रमुख तोकिएको थियो । कार्कीले भिसा दिन आनाकानी गरे पनि अधिकृत तहका काफ्लेले लिई छाडेको पाइएको छ । तर, काफ्लेले ती भिसा के गर्छन् भनेर कार्की अनभिज्ञ थिए ।

कार्कीले भिसा स्टिकरका लागि माग फारम भर्नुपर्ने भनेका थिए । तर, काफ्लेले माग फारममा केरमेट गरेका छन् । उनीहरू दुवै जनाले अध्यागमनका अधिकारीसमक्ष गल्ती स्वीकार गरेका छन्। विभागले उनीहरूसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

विभागले थप अनुसन्धान र कारबाहीका लागि यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । स्रोतका अनुसार उनीहरूको फाइल मंगलबार अख्तियार पठाइएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।