काठमाडौँ, १ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको संकटका बीच पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताएका छन् ।
आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/७७ को समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको उल्लेख गर्दै भने, ‘समग्रमा ७१ प्रतिशत बजेट खर्च भएको छ, ‘जुन अवस्थामा हामीले बजेट कार्यान्वयन गर्न सक्यौं, यो राम्रो हो ।’
अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षमा आफूले संशोधन गरेको बजेटका लक्ष्य भने पूरा गर्न सफल भएको दावी गरे । यद्यपि यो वर्ष पुँजीगत खर्चको लक्ष्य भने सरकारले पूरा गर्न सकेन ।
मन्त्री खतिवडाका अनुसार अघिल्लो आर्थिक वर्षमा कुल ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो कुल विनियोजनको ७५ प्रतिशत मात्र हो । यस अवधिमा सरकारले १० खर्ब ९४ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।
१५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले गत आवमा मात्र ७१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । लकडाउनपछि कोभिड-१९ रोकथाम, प्रशासनिक र सुरक्षामा खर्च बढे पनि असारपछि भने राजस्वले गति लिएको र खर्चसमेत बढेको उनले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्