राजनीति

नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारतले कारबाही थाल्यो



काठमाडौँ, ३ साउन । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिए । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो ।

मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिएको राजदूत आचार्यले बताए ।

“नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई बिथोल्न र खल्बलिन हामी दिँदैनौँ,” भनेर मुख्यमन्त्री आदित्यनाथले आश्वस्त पारेकाे राजदूत आचार्यले सुनाए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।