राजनीति

विदेश जानेका लागि कोरोना परीक्षण गर्न सरकारले तोक्यो ११ अस्पताल



काठमाडौँ, ९ साउन । सरकारले विदेश जाने नेपालीका लागि पिसिआर परीक्षण गर्नलाई ११ ओटा अस्पताल तोकेको छ ।

सरकारले पैसा तिरेर पिसिआर परीक्षण गर्नका लागि ११ ओटा अस्पताललाई अनुमति दिएको छ । यसरी अनुमति पाउनेमा उपत्यकाभित्र वीर अस्पताल, पाटन अस्पताल र त्रिबि शिक्षण अस्पताल रहेका छन । उपत्यकाभित्र यी तीन अस्पतालमा पिसिआर परीक्षण गर्न पाइनेछ । त्यस्तै सरकारले उपत्यका भन्दा बाहिर सेती अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल र कर्णाली प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेतलाई पिसिआर परिक्षण गर्न अनुमति दिएको छ ।

सरकारले बिदेशी नियोगमा काम गर्ने कर्मचारीहरुले पिसिआर गर्न परे उपत्यकामा रहेको निजि अस्पतालहरुमा गर्न सक्ने जानकारी पनि दिएको छ । त्यसको लागि सरकारले ललितपुरमा रहेको स्टार अस्पताल र काठमाडौं मेडिकल कलेजलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले सरकारले तोकेको र अनुमति दिएको अस्पतालमा मात्र पिसिआर गर्न आग्रह समेत गरेका छन ।