राजनीति

चितवनमा ४२ सशस्त्र प्रहरीसहित ५० जनामा कोरोना पुष्टि



चितवन, २ भदौ । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् ।

यस्तै, भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् ।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो ।

सोमबार परीक्षण गरिएका ३५५ नमुनामध्ये ३०५ वटा नमुनाको नेगेटिभ रिपोर्ट आएको छ । चितवनमा ४६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५५ पुगेको छ ।