Banner News

उपप्रम पोखरेलद्वारा राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त



काठमाडौँ, ३ भदौ । १०१ वर्षको उमेरमा मंगलवार निधन हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्माम व्यक्त गर्नुभएको हो । राष्ट्रकवि घिमिरेको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राष्ट्रका विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौँको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो । राष्ट्र कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिनु भएका घिमिरेको मंगलबार निधन भएको हो । उहाँलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गर्नुभएको थियो । त्यसको तीन दिनपछि उहाँलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय हुनुहुन्थ्यो ।