Banner News

अर्थतन्त्रको बाह्य क्षेत्र अझै बलियो: रेमिटेन्सबापत ठूलो रकम भित्रियो



काठमाडौँ, १० भदौ । गत आर्थिक वर्षको एक तिहाइ (चैत–असार) समयलाई विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ ले प्रभाव पारे पनि मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र अझै मजबुत देखिएको छ । कोभिडका कारण अर्थतन्त्रको आन्तरिक पाटो चौपट भई आम जनताको दैनिकी अझै कष्टकर बनिरहेका बेला कम्तीमा बाह्य क्षेत्रमा देखिएको मजबुत अवस्थाले सरकारलाई ढुक्क बनाएको छ ।

गत आर्थिक वर्षमा मुलुकको वैदेशिक व्यापार, विप्रेषण आय, शोधानान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, चालु खाता घाटालगायत अर्थतन्त्रको बाह्य क्षेत्रमा कोभिडको खासै असर देखिएको छैन । यीमध्ये कतिपय क्षेत्रमा विगत वर्षमा भन्दा सुधार पनि आएको छ । राष्ट्र बैंकको नयाँ तथ्यांकअनुसार गत आर्थिक वर्षमा रेमिटेन्स आय ४ अर्ब रूपैयाँले मात्र घटेको छ । विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । अहिले आधा प्रतिशतले मात्र रेमिटेन्समा कमी आउनु कल्पनाबाहिरको विषय बनेको छ । कोभिडबीच पनि मुलुकमा ८ खर्ब ७५ अर्ब रूपैयाँ आएको छ । स्वदेशमा बेरोजगारीको संख्या बढे पनि रेमिटेन्सबापत ठूलो मात्रामा रकम भित्रिएकाले भरथेग भएको छ ।

वैदेशिक व्यापार क्षेत्रमा लामो समयदेखिको उच्च व्यापार घाटाले मुलुक समस्यामा पर्दै आएको थियो । लगातारको उच्च व्यापार घाटा भइरहेका बेला विदेशी विनिमय सञ्चितिमा कमी आउने र शोधानान्तर घाटा बढ्ने भएपछि मुलुक समस्यामा पर्छ कि भन्ने अनुमान पनि गरिएको थियो । तर गत वर्ष आयातमा आएको कमी र विदेशी विनिमय सञ्चितिमा आएको सुधारले केही समय यस्तो समस्या आउने सम्भावना टरेको छ । गत वर्ष शोधनान्तर अवस्थामा पनि सुधार आएको छ । अघिल्लो वर्ष ६७ अर्ब रूपैयाँले घाटामा पुगेको शोधनान्तर अवस्था गत वर्ष २ खर्ब ८२ अर्ब रूपैयाँले बचतमा छ ।

अर्कोतर्फ विदेशी विनिमय सञ्चिति एकै वर्षमा ३ खर्ब ६३ अर्ब रूपैयाँले बढेको छ । अघिल्लो असारसम्म मुलुकमा १० खर्ब ३८ अर्ब रूपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा गत असारमा बढेर १० खर्ब १ अर्ब पुगेको हो । यसमा आएको उच्च सुधारले सरकारलाई ढुक्क बनाएको छ । यस्तै अघिल्लो वर्ष २ खर्ब ६५ अर्ब रूपैयाँ पुगेको चालु खाता घाटा अहिले ३२ अर्बमा झरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।