राजनीति

थप तीन देशसँग उडान सम्झौताको तयारी



काठमाडौँ, १५ भदौ । नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले अहिलेसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । यद्यपि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने आधा दर्जन देशसँग मात्र सीमित छ । समूहको बैठकले भदौ १६ देखि हुने नियमित उडानमा वायु सेवा कम्पनीले कोभिड–१९ को महामारीपूर्व लिने हवाई भाडा दरभन्दा बढी नलिन सम्बन्धित वायु सेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ ।

त्यस्तै स्वदेश फिर्ता हुने नेपालीको विषयलाई अनुगमन र सहजीकरण गर्न मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति पनि बनाइएको छ । समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा सदस्य हुनुहुन्छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।