समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु



चितवन, १५ भदौ । चितवनमा माछापोखरी छेउमा राखिएको तारमा करेन्ट लागेर दुईजना युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगरको मृत्यु भएको हो ।

माछापोखरीमा दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकहरुको साथमा जालसमेत भेटिएको छ । उनीहरू माछा चोर्न गएको हुनसक्ने आशंका गरिएको छ ।

शवको मुचुल्का उठाउने काम भइरहेको र शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।