समाचार

सिन्धुपाल्चोकमा पहिरो : १८ घर पुरिए



सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकमा बाढीमा पहिरोमा परि १८ घर पुरिएको कम्तिमा १२ जना मानिस बेपत्ता भएको जनाइएको छ ।

 बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।