समाचार

जताततै विषाक्त स्यानिटाइजर : स्वास्थ्यमा गम्भीर आघात !



काठमाडौँ, २८ भदौ । घरमा स्यानिटाइजर । सवारी साधनमा स्यानिटाइजर । अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर । जहाँ गयो त्यहीं स्यानिटाइजर । सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ? विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन (बरु हानिकारक) देखाएको छ । उसले २२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु (ब्याक्टेरिया) लाई नष्ट गर्ने क्षमता नभएको पाएको छ । ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन् ।

औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन् । तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन् । ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ ।

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ । विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका थिए । विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका छन् । जब कि मेथानलले मानिसको ज्यानै जान सक्छ ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका पाँच ब्रान्डका स्यानिटाइजरको नमुना परीक्षण गर्दा तिनमा मानव स्वास्थ्यका लागि हानिकारक मेथानल मिसाएको पाइएको थियो । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।