तेजबहादुर ढकाल
मानव सभ्यता माया र प्रेमसँगै वियोग र युद्ध र विजयसँगै प्रायश्चित हुँदै गुज्रेको छ । यात्रामा अनेक साहित्य रचना र भौतिक पदचिन्हहरु छाड्दै अगाडि बढेको छ । यसै क्रममा सारजाहले प्रियशीको चीता माथि ताजमहल बनाए भने प्रताप मल्लले आफ्नी रानीको आशु जम्मा गरि रानी पोखरी बनाए । चक्रबर्ति मौर्य सम्राट अशोकले कलिंग युद्धको प्रायश्चित स्वरुप उनको कोही पनि जिउँदै फिर्ता नआउने यातना गृह “अशोकको नरक” बन्द मात्र गरेनन् युद्धलाई संधैका लागि त्यागि बुद्ध धर्म ग्रहण गरि ८४,००० स्तुप बनाउने प्रतिज्ञा समेत गरे । चक्रबर्ति खस सम्राट अशोक चल्लले पनि धर्म संरक्षणका लागि ४४ गाउ किनेर गुठीदान दिई बांकी जीवन बौद्धमार्गी भएर विताए ।
त्यसैले संधै क्रान्तिबाट मात्रै मुक्ति हुन्छ भन्ने छैन । श्री ३ महाराज चन्द्र शम्शेरले पनि प्रायश्चित स्वरुप दासहरुलाई मुक्ति वा अमलेख मात्र गरेनन् उनिहरुका मालिकहरुलाई पनि उचित क्षतिपूर्ति दिई मुक्त दासहरुकालागि अमलेखगन्ज नै बनाई दिए । बरु सामथ्र्य विनाको कागजी मुक्तिले परिवर्तनका लागि सडकमा आए पछि क्रान्ति सम्पन्न भए पनि सडक मै बस्न बाध्य हुनु पर्ने खतरा तर्फ इतिहासले औंला ठड्याएको छ ।
मेरा वालसखा केशब दाहालको प्रकाशोन्मुख कृति “मोक्षभूमि” त्यस्तै रोचक पृष्टभुमीका कारण अहिले चर्चाको शिखरमा छ । यो आख्यान हो, प्राचिन खस राजा क्राचल्ल देबको । उनले उमेरले धेरै कान्छी रानीलाई प्रभाव पार्न युद्ध त जित्छन् तर गर्भवती रानीलाई मृतकका आफन्तको पिडा असह्य हुन्छ । जसको प्रायश्चित स्वरुप दश हजार दाशहरुलाई मुक्त गरि बुद्ध धर्म ग्रहण गर्दछन् । तीनै मुक्त दासहरुले निर्माण गरेको रोचक राम राज्यको आख्यान हो “मोक्षभूमि” ।
यो रचना नेपाली साहित्यिक जगतमा परिवर्तनको बाहक बनेर आउँदैछ । पुस्तकले हाल सशस्त्र द्धन्द्धका क्रममा दुबै पक्षबाट भएको ठूलो जनधनको क्षतिको प्रायश्चित स्वरुप हाल मुक्त घोषणा गरिएका कमैया, हलिया, हलि, गोठाला, कम्लहरी, हरुवा, चरुवा लगायत सवैको वास्तविक मुक्तिकालागि सम्बन्धित पक्षलाई उत्प्रेरित गर्न सफल होस भन्ने कामना गर्दै लेखकलाई धन्यबादका साथ शुभकामना व्यक्त गर्न चाहन्छु ।
काठमाडौँ, नेपाल
प्रतिक्रिया दिनुहोस्