सम्पादकीय

मलमा राजु गोर्खालीको आगमन हुँदा व्यापारीहरू त्रसित



काठमाडौं, ११ माघ । व्यापारीले रजगज गर्दै आएको सुन्धारास्थित काठमाडौं मलमा राजधानीका कुख्यात् डन राजु गोर्खालीको आगमन हुँदा व्यापारीहरू त्रसित भएका छन् ।

कर्मचारी सञ्चयकोषको उक्त भवनमा डन गोर्खालीले टेन्डर पारेर सोमबारबाट व्यवस्थापनको जिम्मा लिएसँगै व्यापारीहरू त्रसित भएका हुन् । शिवलक्ष्मी कोंजुको नामबाट अत्याधिक टेन्डर बिट गरेका गोर्खालीले १५ वर्षको लागि मलको भाडा उठाउने जिम्मा पाएका हुन् ।
गोर्खालीले मासिक २ करोड ७१ लाख भाडा बुझाउने गरी सञ्चयकोष सँग सम्झौता गरेका छन् । उक्त भाडा उठाउन डन गोर्खालीले अहिलेको भाडाको तुलनामा पाँचगुना बढी भाडा उठाउनु पर्ने हुन्छ ।

जसको कारण व्यापारीहरू आतंकित बन्न पुगेका हुन् । अघिल्लो महिनासम्म व्यापारीले एक करोडको हाराहारीमा भाडा बुझाउँदै आएका थिए । यसअघि सन् २००६ बाट उक्त मलको व्यवस्थापन गरेको व्यवसायी पम्पी राणाले सञ्चयकोषलाई मासिक ८० लाख बुझाउने गरी ठेक्का पारेका थिए ।

मलमा साना–ठूला गरेर ३ सयवटा पसल तथा संस्थाहरू रहेको छ । ६ महिना अगाडी भएको टेन्डरमा ११ जनाले आवेदन दिएका थिए । जसमा डन गोर्खालीले दुई वटा नामबाट टेण्डरबिट गराएका थिए ।

डन गार्खालीले पहिलो रेट मासिक ३ करोड १७ लाख र दोस्रो २ करोड १७ लाख तिर्ने गरी बिट गरेका थिए । भने अन्य ९ फर्मले १ करोड ५१ लख भन्दा कममा टेण्डर बिट गराएका थिए ।

बैंक ग्यारेन्टीबापत राखिएको ५७ लाख जफत गराउँदै गोर्खालीले आफ्नो दोस्रो नामबाट बिट गरिएको टेण्डरबाट सञ्चयकोषसँग सम्झौता गरेको जनप्रहार साप्ताहिकमा समाचार छ  ।