पोखरा, ४ कार्तिक । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले विकास र समृद्धिको लागि कुनै पनि जनमुखी योजनाहरु जनप्रतिनिधि तथा स्थानीयवासीले ल्याएको खण्डमा त्यसको कार्यान्वयन गर्ने बताउनुभएको छ ।
सोमवार नेकपा अन्नपूर्ण गाउँपालिका वडा नं. ५ को सपथ ग्रहण कार्यक्रममा बोल्दै सांसद पहारीले लामो समयसम्म जनताको चाहना र आवश्यकता अनुसार विकास निर्माणका कार्यहरु नहुँदा जनताको विकास प्रतिको चाहना पुरा हुन नसकेको उल्लेख गर्नुभयो । विगतका नेतृत्वले जनताको आवश्यकता र माग अनुसारको कार्य गर्न नसके पनि वर्तमान नेकपाको नेतृत्वका जनप्रतिनिधिले जनताको विकास प्रतिको तिर्खा मेटाउने बताउनुभयो ।
स्थानीयवासी तथा नेकपाका नेतृत्वले योजना लेखेर ल्याउनुस्, योजनाको कार्यान्वयन गर्ने जिम्मा हामी जनप्रतिनिधिको हो । जनताको जनमतलाई कदर गर्दै जनताको विकास प्रतिको चाहना हाम्रो कार्यकालमा ऐतिहासिक बनाउँछौं । गण्डकी प्रदेशका नेकपाका जनप्रतिनिधिले प्रदेशको गरिवी, भ्रष्टाचारलाई भटाउँदै समृद्ध नेपाल : सुखी नेपालीको महान् अभियानलाई सार्थकतामा पुर्याउन जनताले जनप्रतिनिधिको काँधमा भारी बोकाईदिनुभएको छ । जुन जिम्मेवारी हामी पुरा गर्नेछौं ।’
पद कुनै ठूलो कुरा नभई नेतृत्व गर्ने व्यक्तिको क्षमता र दक्षता महत्वपूर्ण भएको उल्लेख गर्दै सांसद पहारीले नेकपाका कार्यकर्ताले हृदयमा इमान्दारी, काममा जिम्मेवारी, मस्तिस्कमा समझदारीको भावनाको साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीले दिएको जस्तोसुकै जिम्मेवारीलाई सहज ढंगले निर्धारित लक्ष्यमा पुर्याउनुपर्ने उल्लेख गर्दै उहाँले पद फरक कपडा जस्तो भएको उल्लेख गर्दै मुख्य रुपमा पार्टीको विचार, नीति, आस्था र विश्वासलाई अंगाल्न निर्देशन समेत दिनुभयो ।
कम्युनिष्ट पार्टी भनेको कार्यकर्ताको बलिदानीले बचाएको उल्लेख गर्दै सांसद पहारीले हाल एकिकृत रुपमा बनेको नेकपाको पंतिलाई पार्टीले ठूलो अपेक्षाका साथ जिम्मेवारी दिएको उल्लेख गर्नुभयो । नेपाली जनताको प्यारो पार्टी नेकपा रहेको प्रमाणीत गर्नुपर्नेमा जोड दिँदै उहाँले कम्युनिष्ट पार्टीको सदस्याताको महत्वलाई आत्मसात् गरी आगामी दिनमा जिम्मेवारीपूर्वक ढंगले पार्टी, जनता तथा मुलुकको विकास र समृद्धिको यात्रामा नेतृत्व गर्ने गरी अगाडी बढ्न निर्देशन दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्