Banner News

प्रम ओलीद्वारा राष्ट्रको नाममा सम्बोधनः सरकार जनताको साथमा रहेको उद्घोष (पूर्णपाठ)



काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको महान् चाड विजय दशमीको उपलक्ष्यमा देशवासीको नाममा सम्बोधन गर्दै सरकार जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा पनि जनताको दुःखलाई सुखमा रुपान्तरण गर्न जनताकै साथमा रहेको उद्घोष गर्नुभएको छ ।

पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

बडा दशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका छन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।

यी चाडवाडहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरु हुन् । साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजनहीन जस्तो बनाउँछ ।

तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन ।