राजनीति

डा. भट्टराई दम्पतीलाई कोरोना संक्रमण



काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डा.भट्टराई स्वयंले यसको जानकारी दिनुभएको छ । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेख्नुभएको छ, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहनुभएको छ । जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।