राजनीति

सभामुख सापकोटाद्वारा परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल



काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गर्नुभएको छ ।

दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँ स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाई दिदीबहिनीहरुलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहज नभएको उल्लेख गर्दै उहाँले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने संकल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताउनुभयो ।

वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सदभाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताउनुभयो ।