राजनीति

राष्ट्रपति भण्डारीद्वारा आमा र गुरुबाट दशैंको टीका



काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डडारीले आमाको हातबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै राष्ट्रपति भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभएको छ ।

अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ ।