समाचार

थप दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, २३ कार्तिक । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या समेत देखिएको थियो ।

त्यस्तै रुपन्देहीमा ७० वर्षीया कोरोना संक्रमितको महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो । अस्पतालले शनिबार राति ९ बजे विज्ञप्तिमार्फत ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।