समाचार

तिहार सुरु, आज काग तिहार



काठमाडौँ, २८ कार्तिक । नेपालीहरुको दोश्रो महान चाड तिहार आजदेखि सुरु भएको छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहारको अवधिलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिन्छ । कागलाई यमराजको दूत’ तथा सन्देश बाहकको रुपमा पूजा गर्ने प्रचलन छ । कागले लोकको खबर यमराजलाई लगिदिने भएकाले आजको दिन कागलाई मिठोमिठो खानेकुरा दिएर मात्रै खाने चलन छ । कागको पुजा गर्नाले माता लक्ष्मीको आशिर्वाद पाएर धनधान्यले पूर्ण हुने धार्मिक मान्यता पनि छ ।

यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा हुन्छ । तेस्रो दिन बिहान गाई पुजा र साँझ लक्ष्मी पुजा हुने गर्दछ । यमपञ्चकको चौथो दिन बिहान गोवद्र्धन पुजा हुन्छ । यो दिनलाई हलो तिहार पनि भन्ने गरिन्छ । सोही दिन नेपालका नेवार समुदायले म्हः पुजा अर्थात आफ्नै पुजा गर्दछन् ।

तिहारको पाँचौ तथा अन्तिम दिन भाइटिका लगाइन्छ । यसपटक भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार बलिराजाले बामनअवतारी भगवान विष्णुलाई तीन पाउ जमिन दान दिन खोज्दा तेस्रो पाउ राख्ने जमिन बलिराजाले दिन सकेनन् । उनले आफ्नै शिरमा भगवान विष्णुको पाउ राख्न लगाएर संकल्प पूरा गरेका थिए ।