हेटौंडा, ३० कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवतलाई नेपालको मौलिक संवतका रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताउनुभएको छ ।
नेपाल संवत् ११४१ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा पनि मजबुत रहेको उल्लेख गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीलाई नेपाल सम्वतको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले तत्कालीन समयमा ऋणको भारले थिचिएका र साहुकैमा दासको जीवन बिताउन बाध्य पारिएका व्यक्तिहरुको ऋण चुक्ता गरिदिएको दिनका स्मृतिमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्दै यो दिनलाई विशेषतः नेवारी समुदायले धुमधामसँग मनाउने गरेको तथा हाल हरेक नेपालीले यस संवत्लाई मौलिक नेपाली संवतका रूपमा आत्मसात गरेको बताउनुभएको छ ।
पौडेलले सन्देशमार्फत भन्नुभएको छ, “हाम्रो देश नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा पनि मजबुत रहेको छ । यो नयाँ वर्षको अवसरमा नेपालीहरुबीचको एकता थप मजबुत बनोस् भन्ने कामना व्यक्त गर्दछु, न्यूदया भिन्तुनाः ।”










प्रतिक्रिया दिनुहोस्