शैक्षिक

पर्वतमा पहिलो व्यावसायिक एफएम सञ्चालनमा



पर्वत, ३० चैत । पर्वत जिल्लामा पहिलोपटक व्यावसायिक एफएम रेडियो सञ्चालनमा आएको छ ।

चारवटा सामुदायिक रेडियो सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय व्यावसायिक एफएम सञ्चालनमा आएको हो । पर्वत मिडिया हाउस प्रालिले पञ्चासे एफएम १०२ दशमलव ८ मेगाहर्जको एफएम सञ्चालन गरेको जनाएको छ ।

सानो जिल्लामा सञ्चारमाध्यमको सङ्ख्या अत्यधिक बढेको भन्ने गुनासो आइरहेका बेला निजी क्षेत्रका उद्योगी, व्यवसायी र सञ्चारकर्मीसमेतको सहभागितामा एफएम सञ्चालन गरिएको पर्वत मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक गणेश पौडेलले जानकारी दिए ।

उक्त रेडियो पाँचसय वाट क्षमताको रहेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गममा पर्ने प्रदेश नं ४ कै प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल पञ्चासेको नामबाट खोलिएको एफएमले आमस्रोतालाई निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर समाचार, सूचना र मनोरञ्जन दिने पौडेलले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एफएमले वैशाख दोस्रो सातादेखि औपचारिक प्रसारण सुरु गर्ने भएको छ ।

उक्त एफएम पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा र गुल्मीमा प्रत्यक्ष सुन्न सकिने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । एफएमद्वारा कर्मचारी उत्पादनका लागि सञ्चालित १५ दिने रेडियो प्रस्तोता, पत्रकारिता तथा उद्घोषण र प्राविधिक तालिमको मङ्गलबार उद्घाटन गर्दै सांसद तथा सञ्चार उद्यमी कल्पना चापागार्इंले प्रविधिको विकाससँगै मोफसलको पत्रकारितालाई थप गुणस्तरीय बनाउँदै लैजानुपर्ने बताए ।

नयाँ संरचनाअनुसार स्थानीय तहमा रहेर गाउँ गाउँमा लुकेका र लुकाइएका समाचारलाई बाहिर ल्याउनसमेत उहाँले आग्रह गर्नुभयो । तालिममा २५ जनाभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

कार्यक्रममा सञ्चार क्षेत्रका सरोकारवालाहरुले मोफसलमा सञ्चालित सञ्चारमाध्यमको विकास र सबलीकरणका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

पञ्चासे एफएमसँगै पर्वतमा पाँचवटा एफएम रेडियो, तीनवटा दैनिक पत्रिका, १२ वटा साप्ताहिक पत्रिका, चारवटा त्रैमासिक पत्रिका, एक केवल टेलिभिजन र आठवटा अनलाइन सञ्चालनमा आएका छन् ।