समाचार

विराटनगरमा गोली चल्यो



विराटनगर, ७ मंसिर । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी जवानको हातमा सामान्य चोट लागेको छ ।

भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने क्रममा हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । ८र९ जनाको संख्यामा रहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा अवरोध भएको उनले बताए ।

हवाई फायरपछि प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । भारतबाट ल्याउँदै गरेको एक बोरा बेल्ट (कम्मरमा लगाउने पेटी)सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको हो ।